सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ। नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक हिन्दू धर्म मान्दछन् जुन विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। यस बाहेक बौद्ध्, मुस्लिम्, किराँत आदी धर्म मान्ने मानिसहरु पनि यहाँ बसोबास गर्दछन। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ तराईका उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी काठमाडौं हो। काठमाडौं, ललितपुर र भक्तपुर शहरहरुलाई काठमाडौं उपत्यका भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा भरतपुर, बिराटनगर, भैरहवा, वीरगञ्ज, जनकपुर, पोखरा, नेपालगञ्ज, धनगढी र महेन्द्रनगर पर्दछन्। नेपाल शब्दको उत्त्पत्ति बारेमा ठोस प्रमाण त उपलब्ध छैन, तर एक प्रसिद्ध विश्वास अनुसार मरिची ॠषि पुत्र ने मुनिले पालन गरेको ठाउँको रुपमा यहाँको नाम नेपाल रहन गएको हो।



निरन्तर रुपमा राजा-रजौटाहरुको अधिनमा रहेर फुट्ने र जुट्ने लामो तथा सम्पन्न इतिहास बोकेको, अहिले नेपाल भनेर चिनिने यो खण्डले वि. स. २०४६ सालको आन्दोलन पश्चात संवैधानिक राजतन्त्रको नीति अवलम्बन गर्‍यो। तर यस पश्चात पनि राजसंस्था एक महत्त्वपूर्ण तथा अस्पष्ट परिधि तथा शक्ति भएको संस्थाको रूपमा रहिरह्यो। यो व्यवस्थामा पहिले संसदीय अनिश्चितता तथा सन् १९९६ देखि ने.क.पा.(माओवादी)को जनयुद्धको कारणले राष्ट्रिय अनिश्चितता देखियो। माओवादीहरू राजनीतिको मूलाधारबाट अल्लगिएर भूमिगत रुपमा राजतन्त्र तथा मूलाधारका राजनैतिक दलहरुको बिरुद्धमा गुरिल्ला युद्ध सञ्चालन गरे, जसको कारण १३,००० भन्दा बढी मानिसहरुको ज्यान जान पुग्यो। यही विद्रोहलाई दमन गर्ने पृष्ठभूमिमा राजाले सन् २००२ मा संसदको विघटन गरी निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गरे र प्रधानमन्त्री मनोनित गर्दै शासन चलाउन थाले। सन् २००५मा उनले एकनासै संकटकालको घोषणा गरेर सबै कार्यकारी शक्ति ग्रहण गरे। सन् २००६को लोकतान्त्रिक आन्दोलन (जनाअन्दोलन-२) पश्चात राजाले देशको सार्वभौमसत्ता जनतालाई हस्तान्तरण गरे तथा अप्रिल २४, २००६मा भंग गरिएको संसद पूनर्स्थापित भयो। मे १८, २००६ मा आफूले पाएको सार्वभौमसत्ताको उपयोग गर्दै नयाँ प्रतिनिधि सभाले राजाको अधिकारमा कटौती गर्‍यो तथा नेपाललाई एक धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्‍यो। अन्तरिम ब्यवस्थापिका संसदले पहिले नै घोषणा गरिसकेको संघीय लोकतान्त्रिक गणराज्य संविधान सभाको पहिलो बैठकबाट मे २८, २००८ मा आधिकारिक रूपमा कार्यान्वयन भयो।

नेपाल मोटामोटी चारकुने आकारको छ। नेपालको लम्बाई करिब ८०० किलोमिटर (५०० मा) र चौडाई २०० किलोमिटर (१२५ मा) छ। नेपालको कुल क्षेत्रफल १४७,१८१ वर्ग किलोमिटर (५६,८२७ sq मा)छ। नेपाल भौगोलिक हिसाबले ३ भागमा विभाजन गरिन्छ: हिमाली क्षेत्र, पहाड, र तराइ क्षेत्र। यी क्षेत्रहरु पूर्व-पश्चिम दिशामा देशभरि फैलिएका छन् र यिनीहरुलाई नेपालका प्रमुख नदीहरुले ठाउँ-ठाउँमा विभाजन गरेका छन् । तराइ क्षेत्र र पाहाडी क्षेत्रका बिच दक्षीणमा चुरे तथा उत्तरमा माहाभारत श्रृङखलाले घेरीएका बिभिन्न सात वटा उपत्यका हरूको समुह छ जसलाइ भित्री मधेश पनी भनिन्छ ।



भारतसँग जोडिएको तराइ फांट भारतीय-गंगा समथरको उत्तरी भाग हो। यो भागको सिंचाई तथा भरणपोषणमा तीन नदीको मुख्य हात छ, यी नदीहरु हुन्: कोशी, गण्डकी (भारतमा गण्डक नदी), र कर्णाली नदी। यो भूभाग उष्म र संतृप्त हुन्छन्।



पहाडी भूभागमा १,००० देखि ४,००० मिटरसम्मका (३,३००–१३,१२५ फू) उचांईका पर्वत पर्दछन्। यो क्षेत्रमा महाभारत लेख र सिवालिक श्रृखला (चुरिया) नामका दुई साना पहाडी श्रृखला मुख्य श्रृखला हुन्। पहाड क्षेत्रमा काठमाडौं उपत्यका पनि पर्दछ जुन नेपालको सबैभन्दा उर्वर तथा शहरी क्षेत्र हो। पहाडी क्षेत्रको उपत्यका हरुको दांजोमा २,५०० मिटर (८,२०० फिट)भन्दा उच्च स्थलमा जनघनत्व निकै कम छ।



हिमाली क्षेत्रमा संसारका सबैभन्दा उच्च हिमश्रृखलाहरु पर्दछन्। यस क्षेत्रको उत्तरमा चीनको सिमानामा संसारको सर्वोच्च शिखर, सगरमाथा ८,८४८ मिटर (२९,०३५ फि) अवस्थित छ। संसारको ८,००० मिटर भन्दा अग्ला १४ चुचुरा मध्ये ८ नेपालको हिमाली क्षेत्रमा पर्दछन्। कञ्चनजङ्घा, संसारको तेश्रो उच्च शिखर पनि यही हिमाली क्षेत्रमै पर्दछ। नेपालका सबै भौगोलिक क्षेत्रका मुख्य समस्यामा वन बिनास एक मुख्य हो जसले गर्दा भूक्षय र इकोसिस्टमको विनास हुन्छ।



नेपालमा पाँच मौसमी क्षेत्र छन् जुन उचाँईसंग केही मात्रामा मेल खान्छन्। ट्रपिकल तथा सबट्रपिकल क्षेत्र १,२०० मिटर(३,९४० फि) भन्दा तल, टेम्परेट क्षेत्र १,२०० देखि २,४०० मिटर (३,९००–७,८७५ फि), चिसो क्षेत्र २,४०० देखि ३,६०० मिटर (७,८७५–११,८०० फि), सबआर्क्टिक क्षेत्र ३,६०० देखि ४,४०० मिटर (११,८००–१४,४०० फि), र आर्क्टिक क्षेत्र ४,४०० मिटर(१४,४०० फिट)भन्दा माथि। नेपालमा पाँच ऋतुहरु छन्: उष्म, मनसून, अटम, शिषिर र बसन्त। हिमालयले मध्य एसियाबाट बहने चीसो हावालाई नेपाल पस्नबाट रोकिदिन्छन् तथा मनसूनको वायुको उत्तरी परिधिको रुपमा पनि काम गर्दछन्।



नेपाल र बंगलादेशको सिमाना नजोडिएतापनि यी दुई राष्ट्र २१ किलोमिटर (१३ माइल)को एक सांघुरो चिकेन्स् नेक भन्ने क्षेत्रबाट छुट्टिएका छन्
यो क्षेत्रलाई स्वतन्त्र-व्यापार क्षेत्र बनाउने प्रयास भईरहेको छ




संसारको सर्वोच्च शिखर सगरमाथा नेपाल र चीन (तिब्बत)को सिमानामा अवस्थित छ। यो हिमालको नेपालमा पर्ने दक्षिण-पूर्वी रिज(ridge) प्राविधिक रूपमा चढ्न सहज मानिन्छ। जसको कारण हरेक वर्ष सो स्थानमा धेरै पर्यटक भेला हुन्दछन्। अन्य चढिने हिमालमा अन्नपुर्ण (१,२,३,४) अन्नपुर्ण श्रृंखलामा पर्दछ।